काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंका नायब सुब्बा (नासु) हेमबहादुर मस्राङगी घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्।
वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी दुःख हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो।
आयोगबाट खटिएको टोलीले मस्राङगीलाई सेवाग्राहीसँग रु. १५,००० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। त्यसपछि कार्यालय परिसरमै गरिएको खानतलासीका क्रममा स्रोत नखुलेको थप नगद बरामद भएको आयोगले जनाएको छ।
आयोगका अनुसार सेवाग्राहीसँग लिएको रु. १५,००० र स्रोत नखुलेको रु. ७७,६०० गरी जम्मा रु. ९२,६०० नगद तथा तीन थान मोबाइल बरामद गरिएको छ।
नगद र मोबाइलसहित मस्राङगीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।