संखुवासभा। कोसी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
शनिबार दिउँसो भएको दुर्घटनामा घाइते भएका तीनमध्ये खाँदबारी ९‚ तुम्लिङटारका ११ वर्षीय मनीष कुमालको मनकामना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार दुर्घटनामा घाइते खाँदबारी ९‚ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमालको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को.२त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
लगत्तै इन्द्र गुल्मबाट सेनाको टोलीले घाइतेको उद्धार गरेर मनकामना सामुदायिक अस्पताल पठाएको थियो। दुर्घटनापछि ट्याक्टर चालक भने फरार छन्।