काठमाडौँ । अमेरिका र इरानबीच वार्ता आज इस्लामावादमा हुने भएको छ। पाकिस्तानको मध्यस्थतामा शनिबार तय गरिएको उक्त वार्ताका लागि इरानी प्रतिनिधिमण्डल राजधानी इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ।
इरानबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागचीको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी छ। उक्त टोलीमा करिब ७० जना सदस्य रहेको र उनीहरूलाई असिम मुनिरले स्वागत गरेका छन्।
अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद पुग्न बाँकी रहेको जनाइएको छ। वार्तामा जेडी भान्सको नेतृत्व रहने अपेक्षा गरिएको छ। साथै डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्यारेड कुश्नरसमेत सहभागी हुन सक्ने अनुमान गरिएको छ, यद्यपि टोलीको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।
इस्लामावाद प्रस्थान गर्नुअघि उपराष्ट्रपति भान्सले वार्ताबाट सकारात्मक परिणाम आउने अपेक्षा व्यक्त गरेका छन्। तर उनले चेतावनी दिँदै भने, “यदि छल गर्ने प्रयास भयो भने वार्ता सहज हुनेछैन।”
यता इरानले वार्ताअघि नै कडा सर्तहरू अघि सारेको छ। सभामुख गालिबाफले अमेरिकाले इरानी सम्पत्ति फुकुवा गर्ने र लेबननमा युद्धविराम सुनिश्चित गर्ने प्रतिबद्धता कार्यान्वयन नभएसम्म औपचारिक वार्ता सुरु नहुने बताएका छन्।
यसअघि राष्ट्रपति ट्रम्पले वार्ता नै एकमात्र विकल्प रहेको बताएका थिए। सामाजिक सञ्जालमार्फत उनले इरानसँग वार्ता अपरिहार्य भएको उल्लेख गरेका छन्।
छ हप्तादेखि जारी द्वन्द्वपछि हाल दुई साता लामो युद्धविराम लागू भए पनि स्थिति पूर्ण रूपमा सामान्य भइसकेको छैन। अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण रोकेका छन्, तर इरानले हर्मुज जलडमरूमध्यमा लगाएको नाकाबन्दी अझै जारी छ।