काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पनि ठूलो आर्थिक घाटा झेल्नुपरेको जनाएको छ। निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार हाल निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८२ करोड रुपैयाँ घाटा भइरहेको छ।
शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै उनले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई बुझाउन बाँकी रहेको रकम अझै १६ अर्ब ३७ करोड रुपैयाँ रहेको जानकारी दिए। यही कारणले पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निगम बाध्य भएको उनको भनाइ छ।
निगमले उपभोक्तालाई इन्धनको खपत घटाउन तथा मितव्ययी बन्न आग्रह गरेको छ। नयाँ समायोजनअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। त्यसैगरी ग्यासमा १०० रुपैयाँले मूल्य बढाइएको छ।
निगमले बढ्दो घाटा र बक्यौता दायित्वका कारण मूल्य समायोजन अपरिहार्य भएको स्पष्ट पारेको छ।