काठमाडौं । अमेरिका र इरानबीच शनिबार भएको लामो वार्ता कुनै ठोस निष्कर्षमा पुग्न सकेन। दिउँसो सुरु भएर बिहान ५ बजेसम्म चलेको छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता निष्कर्षविहीन भएको जानकारी दिएका हुन्।
होटल सेरेनामा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा उनले हालसम्म दुवै पक्षबीच कुनै सहमति नभएको स्पष्ट पारे। “दुःखको कुरा, हामी अझै सम्झौतामा पुग्न सकेका छैनौं,” उनले भने।
भान्सका अनुसार इरानले अमेरिकाले अघि सारेका प्रस्तावहरू स्वीकार गर्न अस्वीकार गरेको छ। “उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,” उनले बताए। साथै, वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि उनले जानकारी दिए।
उनले इरानबाट परमाणु हतियार तथा त्यससम्बन्धी प्रविधि विकास नगर्ने स्पष्ट र ठोस प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए। अमेरिकाको प्राथमिकता इरानलाई आणविक हतियार विकासबाट रोक्नु रहेको संकेत पनि उनले गरे।
पत्रकार सम्मेलनपछि भान्सले आगामी रणनीतिबारे भने कुनै स्पष्ट धारणा राखेनन्। विशेषगरी स्ट्रेट अफ हर्मुजको अवस्था र सम्भावित युद्धबारे सोधिएका प्रश्नमा उनले प्रतिक्रिया दिन अस्वीकार गरे।
अमेरिका र इरानबीच जारी वार्ताबाट तत्कालै समाधान ननिस्किँदा हाल कायम रहेको अस्थायी युद्धविरामको भविष्य अन्योलमा परेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।