काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले चार वटा घर, ४५ तोला सुन र एक करोड ९० लाख बैंक मौज्दात रहेको खुलाएका छन् ।
मन्त्री वाग्लेले संघीय संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग ललितपुरको सानेपामा दुई करोडमा खरिद गरेको अपार्टमेन्ट छ । त्यस्तै भैंसेपाटीमा पाँच करोडमा किनेको घर छ । त्यस्तै काभ्रेको धुलिखेलमा तीन करोड ७५ लाख मूल्यको अपार्टमेन्ट र तनहुँको बन्दीपुरमा दुई करोडको घर छ ।
त्यस्तै उनीसँग ४५ तोला सुन, विभिन्न बैंक खातामा एक करोड ९० लाख रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै स्वर्णीमका नाममा गोरखामा पाँच रोपनी र तनहुँमा छ रोपनी जग्गा छ भने उनका बुवा जीवनप्रसाद वाग्लेका नाममा काठमाडौंमा तीन रोपनी, गोरखामा तीन रोपनी र चितवनमा पाँच रोपनी जग्गा रहेको छ ।
त्यस्तै स्वर्णीमसँग विभिन्न कम्पनीका पाँच करोड भन्दा बढि मूल्यको शेयर छ भने ९४ लाखको गाडी छ । वाग्लेले बैंकबाट एक करोड पाँच लाख ऋण लिएका छन् भने व्यक्तिगत सापटी स्वरुप दुई करोड ५० लाख रुपैयाँ ऋण लिएका छन् ।