काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२९ चैत्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज (आइतबार) एकैदिन १०१ सवारी चालकलाई कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो।

त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँचजना, रातो बत्ती उल्लंघन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ९४ सवारीसाधनका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो। यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्छ। सवारी चलाउँदा सावधानी अपनाऔँ। अकालमै ज्यान जानबाट जोगिऔँ।”

यदि चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शंक लागे यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि उनले आग्रह गरे।