काठमाडौँ। दैलेख प्रादेशिक महोत्सव हुने भएको छ। ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ ७ देखि १९ वैशाखसम्म महोत्सव हुने भएको हो।
कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिने उद्देश्यसाथ आयोजना गर्न लागिएको महोत्सवमा १८० स्टल रहने नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्वअध्यक्ष एम मल्लले जानकारी दिए।
महोत्सवबारे जानकारी दिन काठमाडौँमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उनले भने‚ “१८० मध्ये ३० वटा स्थानीय उत्पादनका मात्रै स्टल रहनेछन् र करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ।”
दैलेख जिल्लाका विभिन्न कला-संस्कृति झल्कने झाँकी तथा नाच र स्थानीय उत्पादन‚ उत्पादन गर्न सक्ने सम्भावनाका क्षेत्र पहिचान गरेर लगानी भित्र्याउने लक्ष्य पनि लिइएको मल्लको भनाइ छ।
संघका पूर्वअध्यक्ष शान्तिप्रसाद शर्माले दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा जानकारी दिइने बताए। कृषि, जलविद्युत्, पर्यटनका हिसाबले महत्त्वपूर्ण जिल्लाका रूपमा रहेको दैलेखको विकासका लागि सबैको सहयोग आवश्यक पर्ने उनको भनाइ छ।
दैलेखमा सुन, तामालगायत खानी भएकाले त्यसको उत्खनन गर्न सकिएको खण्डमा जिल्लाको मुहार फेरिने उनको भनाइ छ। अर्कोतर्फ पेट्रोलियम खानी भएको पुष्टि भइसकेको अवस्थामा त्यसबाट इन्धन निकालेर प्रयोग गर्नेतर्फ उचित ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे।
जिल्लाका उद्योगी व्यवसायीले मात्रै लगानी गरेर जिल्लाको विकास सम्भव नहुने भएकाले बाह्य लगानी भित्र्याउन पनि महोत्सव महत्वपूर्ण हुने शर्माले बताए। जिल्लाको पेट्रोलियम खानी उत्खननका विषयमा अघिल्लो सरकासँग कुरा हुँदा फागुन-चैतबाटै सुरु गर्ने भनिए पनि अहिले अलपत्र परेको भन्दै यसमा पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। महोत्वसले दैलेखमा उत्पादन भएका सामानहरूको प्रचारमा टेवा पुर्याउने उनको विश्वास छ।
दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले जीवन, भूगोल, भाषा, संस्कृति, वेशभूषाका कारण दैलेखविना देश अधुरो हुने धारणा व्यक्त गरे। जिल्लाको विकास गर्न सबैको हातेमालो आवश्यक रहेको शाहीको भनाइ ।
जिल्लाको आर्थिक विषयमा उद्योग वाणिज्य संघबाहेक अरूलाई धेरै जानकारी नहुने भएकाले जिल्लाको आर्थिक विषयमा संघले नेतृत्व गर्नुपर्ने समाजका सचिव सूर्य बस्नेतले बताए। पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकियो भने मात्रै पनि दैलेख जिल्ला मात्रै नभएर देशले नै काँचुली फेर्ने उनले बताए।
फोटो पत्रकार तथा मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले भाषाको उत्पत्ति भएको क्षेत्र राज्यले नै पछि पारेको भन्दै आफ्ना तर्फबाट महोत्वस सफल पार्न गर्ने सहयोग गर्न तयार रहेको बताए।
त्यस्तै राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले दैलेख सम्भावना बोकेको जिल्ला भएकाले सबै मिलेर जिल्लाको विकास र समृद्धिमा लाग्नुपर्ने धारणा व्यक्त गरिन्। पत्रकार सम्मेलनमा कोटेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक विनोद अधिकारीले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन, कला संस्कृतिको जर्गेनामा लाग्नुपर्ने धारणा व्यक्त गरे।