ललितपुर। नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृत वा सोसरहका २०३ अधिकृत दीक्षित भएका छन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलले सञ्चालन गरेको ४०औँ आधारभूत प्रशासन प्रशिक्षण आज (सोमबार) सम्पन्न भएसँगै उनीहरूलाई दीक्षान्त गरिएको हो।
कार्यक्रममा स्टाफ कलेजका कार्यकारी निर्देशक रामशरण पुडासैनीले नयाँ मानक स्थापना गर्दै देशका लागि सम्झनलायक काम गर्न आग्रह गरे।
“प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुहोला, राष्ट्रसेवकको हैसियतले धेरै कुराको सुधार र मानक स्थापित गर्ने सन्दर्भमा स्टाफ कलेजले आफ्नो नियमिततालाई परिस्कृत गर्दै अगाडि बढिरहेको छ। यहाँको सिकाइलाई व्यवहारमा उतार्दै नयाँ उचाइ हासिल गर्न नीतिगत पुनःसंरचनाका विषयमा हामीसँगसँगै छौँ‚” उनले भने।
स्टाफ कलेजले हरेक वर्ष चार हजार कर्मचारीलाई प्रशिक्षण दिने गरेको जानकारी गराउँदै कार्यकारी निर्देशक पुडासैनीले सेवा प्रवाहलाई थप प्रभावकारी र मितव्ययी बनाउन ध्यान दिइएको बताए।
कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव सुरजकुमार दूराले नवप्रवेशी अधिकृतहरूलाई अध्ययन र अनुसन्धानलाई निरन्तरता दिँदै देशहितका पक्षमा काम गर्न आग्रह गरे।
सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख महेश बरालले समयको परिपालना गर्दै सार्वजनिक सेवाको मूल्यलाई उच्च राख्न आग्रह गरे। उनले आफूले गरेको कामप्रति सधैँ जवाफदेही हुनेगरी लाग्नुका साथै ज्ञान, सीप र क्षमतालाई सही ढङ्गले उपयोग गर्न सुझाए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मानव संशाधन तथा योजना महाशाखाका उपसचिव लेखनाथ न्यौपानेले निजामती सेवाको छवि उच्च राख्दै राष्ट्रको सेवासँगै आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरे।
स्टाफ कलेजका सार्वजनिक सेवा तालिम विभाग प्रमुख त्रिलोचन पोखरेलले निजामती सेवाको मूल्य-मान्यताअनुरुप सेवा प्रवाह गर्ने क्षमतालाई गुणस्तरीय, प्रश्नविहीन र उच्च मूल्यांकनयोग्य बनाउन आग्रह गरे।
दीक्षितका तर्फबाट अधिकृत पवित्रा रानाले चारमहिने तालिमले जनसेवाप्रति जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाएको बताइन्। प्रशिक्षण गत २ पुसबाट सञ्चालन भएको थियो।