काठमाडौँ । कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा घडी, मोबाइल, सुनचाँदी, बैंक मौज्दात तथा सवारी साधनलगायत सम्पत्ति रहेको देखिएको छ।
विवरणअनुसार स्वआर्जनबाट करिब ५० हजार रुपैयाँ मूल्यको घडी रहेको उल्लेख गरिएको छ। साथै करिब ९० हजार रुपैयाँ मूल्यको मोबाइल र करिब ७५ हजार रुपैयाँ मूल्यको ल्यापटप रहेको जनाइएको छ।
धातु सम्पत्तितर्फ करिब ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ। ती सम्पत्तिको स्रोत पैतृक तथा स्वआर्जन भएको जनाइएको छ।
वित्तीय विवरणअनुसार पाँच वटा बैंकमा गरी करिब १ लाख २६ हजार रुपैयाँ मौज्दात रहेको देखाइएको छ।
सवारी साधनतर्फ मन्त्री चौधरीले ऋणमा स्कुटर खरिद गरेको उल्लेख गरिएको छ। करिब १ लाख ५० हजार रुपैयाँ ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी भइसकेको विवरणमा उल्लेख छ। साथै, स्वआर्जनबाट करिब ३ लाख ३० हजार रुपैयाँ मूल्यको अर्को स्कुटर रहेको जनाइएको छ।
अन्य सम्पत्तिमा माइती पक्षबाट प्राप्त २ वटा बाख्रा र १० कुखुरा रहेको विवरणमा उल्लेख गरिएको छ।