आर्थिक अभावकै कारण निवृत्त भएका कर्मचारीले उपदान पाएनन्
चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ। धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो। आर्थिक अभावकै कारण निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन्।
अस्पतालले निःशुल्क शय्या, बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ। शय्या अभाव हुँदै गएपछि विस्तार पनि गरेको छ। देशको क्यान्सर उपचारको केन्द्र रहेको यस अस्पतालमा सरकारी निकायहरूबाट भुक्तानी नपाउँदा आर्थिक समस्या परेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सरकारका विभिन्न निकायबाट अस्पताललाई ४१ करोड ६७ लाख ५० हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ। यसमध्ये सबैभन्दा बढी स्वास्थ्य बिमा बोर्डबाट २५ करोड ८८ लाख रुपैयाँ, संघीय सरकारको विपन्न उपचारबापत १२ करोड ६७ लाख रुपैयाँ, विपन्नअन्तर्गत बागमती प्रदेशको ६२ लाख २५ हजार रुपैयाँ, लुम्बिनी प्रदेशको ९९ लाख १८ हजार र गण्डकी प्रदेशको १५ लाख नौ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
भुक्तानी नपाउँदा अस्पतालले तिर्नुपर्ने दायित्व पनि बाँकी छ। कार्यकारी निर्देशक पौडेलका अनुसार स्पतालले तलब भत्ता, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषसहित नियमित मर्मतसम्हारलगायत विभिन्न निकायलाई भुक्तान गर्नुपर्ने १९ करोड १७ लाख १५ हजार रुपैयाँ बाँकी छ। यसबाहेक फार्मेसीमा औषधि खरिद गरेको नौ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। चालु आवमा निवृत्त भएका १८ कर्मचारीको चार करोड ५७ लाख रुपैयाँ उपदान रकम अस्पतालले भुक्तानी गर्न सकेको छैन।
अस्पतालको मौज्दात खातामा आठ करोड २८ लाख रुपैयाँ छ। जुन रकम तलब र कर्मचारीको तीन महिनाको पठाउन बाँकी नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा पठाउँदा सकिने अवस्था छ। बाँकी भुक्तानी गर्न नसक्दा नियमित अस्पताल सञ्चालनमा कठिनाइ भएको उनले बताए।
उपकरणको नियमित मर्मतसम्हार, अत्यावश्यक खरिद, औषधि खरिदजस्ता कामलाई नियमितता दिन अप्ठ्यारो भएको उनले बताए। अस्पतालमा मासिक तलब-भत्ता मात्रै पाँच करोड रुपैयाँ हाराहारी हुने गर्दछ। यहाँ ९५ चिकित्सकसहित ७१३ कर्मचारी कार्यरत छन्।
अस्पताल सञ्चालनका लागि सरकारले कर कोषबाट चालु आवमा २४ करोड १७ लाख रुपैयाँ आठ हजार बजेट दिएको थियो। अस्पतालमा कार्यकार चिकित्सक कर्मचारीका लागि तलब भत्तामा मात्रै वार्षिक ६० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ। अन्य अस्पतालकै आम्दानीबाट चल्ने गरेको छ। भौतिक पूर्वाधार र ठूला उपकरण खरिदका लागि सरकारले छुट्टै विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गर्दछ।
अस्पतालले हरेक वर्ष सेवा-सुविधा विस्तारसँगै आम्दानी बढाउँदै लगेको छ। पौडेलका अनुसार तीन वर्षअघि वार्षिक ४८ करोड रुपैयाँ आम्दानी गरेको अस्पतालले आर्थिक वर्ष ०८०/८१ मा ५८ करोड रुपैयाँ र गत आर्थिक वर्ष ०८१/८२ मा ७४ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ।
बिरामीको सङ्ख्या बढेसँगै आम्दानी बढेको हो। आव ०७९/८० मा एक लाख ६६ हजार २००, ०८०/८१ मा एक लाख ८८ हजार ५१४ र गत आवमा दुई लाख नौ हजार ५९४ बिरामीले सेवा लिएका छन्। जसमध्ये आव ०७९/८० मा चार हजार ९७ जनाको शल्यक्रिया गरिएको छ। आव ०८०/८१ मा चार हजार १६५ र गत आर्थिक वर्षमा ६ हजार बढी शल्यक्रिया भएका छन्।
अस्पतालमा अत्यावश्यक मानिएको सिटी गरिएको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ। गत आवमा १३ हजार ४७९ जनाले सिटी गरेका छन्। यो सङ्ख्या ०८०/८१ मा १२ हजार ३९० र ०७९/८० मा १० हजार ९२० थियो। गत वर्षदेखि सुरु गरिएको मेमोग्राम ९५१ जनाले सेवा लिएका छन्।
अस्पतालमा दैनिक एक हजार दुई सय हाराहारी बिरामी सेवा लिन आउने गर्छन्। क्यान्सर बिरामीका लागि दिइने डे केयर सेवामा १३ शय्या थप गरिएको छ। यससँगै तीन वर्षअघि २० हजार ३५४ जनाले एक वर्षमा यो सेवा लिएकामा गत आवमा २९ हजार ४२१ जनाले सेवा लिएका छन्।
कार्यकारी निर्देशक पौडेल आफ्नो तेस्रो वर्ष कार्यकाल सकिँनै लाग्दा न्यून बजेट र साधनस्रोतमा अधिकतम काम गर्न सफल भएको बताउँछन्। सेवा सुविधा विस्तार गरेसँगै आम्दानी बढेको भन्दै उनले सरकारी निकायबाट आउने भुक्तानी आएमा सञ्चालनमा सहजता हुने बताउँछन्। यही १८ चैतमा अस्पतालका अध्यक्ष विजय न्यौपानेको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ। जसका कारण अस्पतालको आर्थिक कारोबारमा समस्या भएको छ। उनले सेवाग्राहीको चाहनाअनुसार पूर्ण रूपमा काम गर्न कठिन भए पनि विगतका वर्षको तुलनामा सेवामा निकै सुधार भएको दाबी गरे।