काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

उपभोक्तालाई नेपाल आयल निगमको आग्रह- यथार्थ बुझ्नुहोला

३० चैत्र २०८२
नेपाल आयल निगम। तस्बिर : शम्भु रेग्मी
अ+
अ-

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका नकारात्मक सूचनाप्रति नेपाल आयल निगमले ध्यानाकर्षण भएको जनाएको छ। निगमले सोमबार विज्ञप्ति जारी गर्दै हालको मूल्य संरचना र घाटाको अवस्थाबारे स्पष्ट पारेको हो।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट ३१ मार्चमा प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलको लागत प्रतिलिटर २२१ रुपैयाँ ३२ पैसा, डिजेल २९४ रुपैयाँ ९९ पैसा, मट्टीतेल २४३ रुपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ ९२ पैसा, बाह्य २६३ रुपैयाँ ८० पैसा तथा एलपी ग्यासको लागत प्रतिसिलिन्डर २,३४१ रुपैयाँ २५ पैसा छ।

अहिले कायम खुद्रा बिक्री मूल्य लागतभन्दा कम भएकाले ठूलो घाटामा रहेको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा छ।

निगमले प्रत्येक १५ दिनमा करिब सात अर्ब ८१ करोड रुपैयाँ घाटा बेहोरिरहेको पनि जनाएको छ। निगमलाई डिजेलतर्फ सबैभन्दा बढी घाटा छ।

यस्तो कठिन अवस्थामा पनि आपूर्ति व्यवस्थापन सहज बनाइएको निगमले दाबी गरेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सिर्जित वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै उपभोक्तालाई यथार्थ मूल्यांकन गर्न आग्रह गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने क्रम सुरु भए यहाँ पनि समायोजन गरिने जनाएको छ। जटिल परिस्थितिमा साथ र सहयोग पुर्‍याएकोमा उपभोक्ताप्रति निगमले धन्यवाद व्यक्त गरेको छ।