सफलताको कथा
कक्षाकोठाबाट खेतसम्मको यात्रा
काठमाडौँ। पदमपोखरी १३‚ हेटौँडामा फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोट नियालिरहेका छन्। कहिले बिरुवाको सूक्ष्म निरीक्षण गर्छन्। कहिले सहयोगी कामदारलाई केही अह्राउँछन्। उनको यो चालमा एउटा दृढ आत्मविश्वास देखिन्छ- अनुभवले मात्र होइन, आफ्नै संकल्पले सँगालिएको आत्मविश्वास। केही वर्षअघि उनी कक्षाकोठामा विद्यार्थीसँग रमाइरहेका हुन्थे। अहिले भने खेतमै अनुभव बटुलिरहेका छन्।
“सात वर्ष भयो,” लामा भन्छन्, “यसअघि म सर्भिस सेक्टरमा थिएँ- एक गणित शिक्षकका रूपमा। अहिले म किसान हुँ।” शिक्षकबाट कृषि उद्यमी बन्ने उनको यात्रा अचानक भएको होइन। यो अनुभव र अवलोकनबाट आएको हो। त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुबाको एग्रो भेट पसल। जहाँ किसान सधैँ समस्या र समाधान खोज्दै आउने गर्थे।
“म त्यहाँ बस्दा किसानका कुरा सुन्थें,” उनी सम्झिन्छन्, “त्यसपछि लाग्न थाल्यो, हामी उत्पादनतर्फ जानुपर्छ। नेपाल आयातमा निर्भर छ। आयातित वस्तुहरूको मात्रै उपभोग गरेर, उत्पादनमा नलाग्ने हो भने कसरी परिवर्तन आउँछ?” यो प्रश्नले उनलाई छोडेन। लामो समय सेवा क्षेत्रमा बिताएपछि उनलाई उत्पादनमा केही गर्ने चाहना बढ्दै गयो। उनी सिर्जनाका अवसर खोजिरहेका थिए। त्यही समयमा उनले कृषि क्षेत्रमा नयाँ अवसर देखे। ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग। “माग छ भने किन नगर्ने?” उनी भन्छन्।

त्यही सोचले ‘एमएनएस एग्रो प्रालि’ को जन्म भयो। करिब डेढ बिघामा फैलिएको फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फूलको उत्पादन गरिन्छ। बाख्रापालन पनि गरिन्छ। एउटा सानो प्रयासबाट सुरु भएको काम अहिले व्यवस्थित कृषि उद्यम बनेको छ। करिब चार करोडको लगानीमा रहेको फार्मको मुख्य आम्दानीको स्रोत भने ड्रागन फ्रुट छ।
लामाको खेती केवल बाली उत्पादनमा मात्रै सीमित छैन। यो प्रयोग र प्रणाली निर्माणको प्रयास पनि हो। ड्रागन फ्रुट खेतीमा उनले नवीन तरिका अपनाएका छन्। अफ- सिजनमा पनि उत्पादन बढाउन कृत्रिम बत्ती प्रयोग गरिएको छ। बत्ती सेन्सरमार्फत आफैँ बल्ने- निभ्ने व्यवस्था गरिएको छ। उनले परम्परागत पोल प्रणालीबाट ट्रेलिस प्रणालीतर्फ विस्तारै ड्रागन फ्रुट खेतीलाई रुपान्तरण गरिरहेका छन्। जसले उत्पादन र व्यवस्थापन दुवैमा सुधार ल्याउँछ।
“सानो परिवर्तनले पनि ठूलो फरक पार्छ,” उनी भन्छन्। उनको यो यात्रा सहज भने थिएन। ड्रागन फ्रुटजस्तो बालीमा व्यावसायिक उत्पादन आउन समय लाग्छ, कम्तीमा पाँच वर्ष। प्राकृतिक जोखिम पनि छन्। फल पाक्ने बेला चराले करिब १० प्रतिशतसम्म क्षति पुर्याउँछ। केहीमा ढुसीजन्य रोग पनि लाग्ने गर्छ। बिरुवा पहेँलो देखिने र यसले बोटको वृद्धि रोकेर फलको उत्पादनमा ह्रास आउने गर्दछ।
“हामी व्यवस्थापन गर्दै छौँ, बर्ड नेट र ब्यागिङको इन्स्टलेसनको काम हुँदै छ,” उनी भन्छन्। यो फार्म परिवारमै आधारित छ। उनका बुबा प्राविधिक अनुभवसहित संलग्न छन्। पत्नीले कृषि विषय पढेकी छन्। लामा स्वयं पनि स्नातकोत्तरपछि जेटीए पढेर कृषि तालिम लिएका छन्। यसबाहेक चारजना स्थायी कामदार छन्। सिजनमा थप कामदार पनि राखिन्छ। “यो मेरो एक्लैको प्रयास भने होइन,” उनी भन्छन्, “अरूलाई पनि सिकाएर काम गर्न सक्ने बनाएका छौँ।”

उनको कामले पहिचान पनि पाएको छ। स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका सम्मान पाएका छन्। हरेक प्रोत्साहन उनका लागि नयाँ सुरुवातको खुड्किलो बनेको छ।
आगामी दिनमा उनी उत्पादनभन्दा अघि बढेर प्रशोधनतर्फ जान चाहन्छन्। “ड्रागन फ्रुटबाट जुस, क्यान्डी, वाइन बनाउन सकिन्छ,” उनी भन्छन्, “केही पनि खेर जानु हुँदैन।”
यसमा उनी प्रणालीगत समस्या पनि देख्छन्। मल, गुणस्तरीय बिउ, बिमा र स्थिर बजार अझै चुनौतीका रूपमा छन्। किसानलाई सहयोग गर्ने नीति, न्यूनतम समर्थन मूल्य र डिजिटल बजार आवश्यक रहेको उनी बताउँछन्।
लामा केवल व्यक्तिगत परिवर्तनको उदाहरण मात्र बन्न चाहँदैनन्। उनी नेपाली माटोले बोकेको कृषिप्रधान मुलुकको अर्थ सबै युवाले प्रत्याभूत गर्नुपर्नेमा जोड दिन्छन्। “राज्यले यसमा विशेष जोड दिनुपर्छ‚” उनी स्पष्ट छन्‚ “धेरै वर्ष सेवा गरेँ। अब कृषि कर्ममा आफ्नो ऊर्जाशील समय बिताउन चाहन्छु।”
हेर्नुहोस् थप तस्बिर :
