काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

३० चैत्र २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओली। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको सोमबार शल्यक्रिया गरिएको हो। त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उनलाई अपरेसन थिएटर (ओटी) बाट आईसीयूमा सार्ने तयारी भइरहेको छ।

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ। १४ चैतमा प्रहरीले ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो। स्वास्थ्यको कारण देखाउँदै उनलाई सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी-प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।

सर्वोच्चले २३ चैत बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अहिलेसम्म अस्पतालमै छन्।