पोखरा। लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताएका छन्।
पोखरामा सम्पन्न लोकसेवा आयोगहरूको दुईदिने छैटौँ राष्ट्रिय सम्मेलनको आज (सोमबार) आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले आयोगहरूबाट छनोट हुने कर्मचारी शासकीय प्रभावकारिताका संवाहक भएको बताए। उनले आयोगको छनोट प्रणालीमा थोरै मात्र त्रुटि भए त्यसको असर राज्यले लामो समय भोग्नुपर्ने हुँदा चनाखो हुनुपर्नेमा जोड दिए।
गौरवशाली इतिहास बोकेको संवैधानिक निकाय लोकसेवा आयोगले आर्जन गरेको जनविश्वास र स्थापित पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिमा आएको परिवर्तन, सूचनाको हकको बढ्दो प्रयोग र परिवर्तित सन्दर्भहरूलाई आत्मसात् गरी अगाडि बढ्न सके आयोगको विश्वासनीयतामा थप अभिवृद्धि हुने उनको भनाइ छ।
सम्मेलनले विभिन्न ६ बुँदे घोषणपत्रसमेत सार्वजनिक गरेको छ। घोषणापत्रमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण ऐन) २०७५ बमोजिम लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड २०८२ को मस्यौदामा प्राप्त सुझावका आधारमा आयोगबाट स्वीकृत गरी सार्वजनिक गर्ने, लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड सार्वजनिक भएपछि त्यसैका आधारमा सूचकहरू निर्धारण गरी सबै प्रदेश लोकसेवा आयोगहरूले आवश्यकताअनुसार स्वमूल्यांकन गर्ने वा समकक्षी मूल्यांकन गर्ने, लोकसेवा आयोगहरूको सातौँ सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेस प्रदेशमा आयोजना गर्नेलगायत छन्।
सम्मेलनमा आयोगका सचिव रामेश्वर दंगालले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच समन्वय र सहकार्यको स्थायी संरचना नरहेकाले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय सम्मेलन अत्यावश्यक रहेको बताए।
सम्मेलनमा सातै प्रदेशका अध्यक्षहरूले राष्ट्रिय सम्मेलनको सान्दर्भिकता एवं आ-आफ्नो प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहको पदपूर्तिलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउन गरेका प्रयास तथा काम-कारबाहीबारे प्रकाश पारेका थिए।