काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध, फुट, बन्द र विद्रोहले राष्ट्र कमजोर हुने बताएका छन्। नयाँ वर्ष २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन नहुनेमा जोड दिए।
उनले संवैधानिक समाधान खोज्न विलम्ब नगर्न पनि सबै पक्ष संकल्पित हुनुपर्ने बताए। उनले सबै पक्षको माग सम्बोधन हुने गरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए।
“निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौँ। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौँ‚” पूर्वराजा शाहले भनेका छन्‚ “संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौँ।”
उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भए पनि त्यो कोरा परिवर्तन मात्रै भएको टिप्पणी गरेका छन्।
देश प्रयोगशाला मात्रै भएको भन्दै उनले राष्ट्र निर्माणमा पछि परेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले भनेका छन्‚ “राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्यौं। तर त्यो कोरा परिवर्तनमात्रै भयो।”
उनले दलदलको खलबलमा मुलुकको श्रीवृद्धिमा पछाडि परेको बताएका छन्। उनले मुलुकलाई प्रयोगशाला बनाएको उल्लेख गरेका छन्। उनले भनेका छन्‚ “दलदलको खलबलमा त हामी धेरै दगुरियौँ। तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्यौँ। सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै लाग्यौँ। फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो।”
शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन्। “स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो। विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ। राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो‚” पूर्वराजा शाहको शुभकामना सन्देशमा छ।
हेर्नुहोस् पूर्वराजा शाहको शुभकामना सन्देश :
प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू
हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं। नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना।
समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ। विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ। तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ।
वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आममनोभावना रह्यो। राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्यौं। तर त्यो कोरा परिवर्तनमात्रै भयो। दलदलको खलबलमा त हामी धेरै दगुरियौं। तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्यौं। सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं। फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो।
स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो। विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ। राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो। पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ।
आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ। यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन्। यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ। आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ। नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ। आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ।
आमनागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस्। हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ। देशको स्रोत शक्ति हो। सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ। अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ। त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ। निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं। नेपाल शान्तिको भूमि बनोस्। उन्नतीको मुलुक बनोस्। अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस्। सबै नेपालीले न्याय शान्ति र सुख पाउन्। यही हाम्रो सदिक्षा हो। श्री पशुपतिनाथले सबैको कल्याण गरुन्।
जय नेपाल