राजविराज। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ स्थित सप्तकोसी ब्यारेजमा नुहाउने क्रममा डुबेर आज (मंगलबार) एकजनाको मृत्यु भएको छ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ३‚ पोर्ताहाका दीपेन्द्र यादवका १७ वर्षीय छोरा रिपेशकुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
प्रहरी निरीक्षक कार्कीका अनुसार रिपेश साथीहरूसँग कोसी ब्यारेजको गोलघरनजिक कोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएको खबर इलाका प्रहरी कार्यालय भारदहबाट जानकारी पाएपछि तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कोसी नदीको ब्यारेजमा खोजी गरेको उनले बताए।
खोजीका क्रममा सख्त घाइते अवस्थामा फेला परेका रिपेशलाई भारदह अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।