काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

विराट गोल्डकप

१ बैशाख २०८३
तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगरमा जारी ३८औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

सहिद मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारतको झारखण्डस्थित बिर्सामुन्डा स्पोर्ट्स एकेडेमीलाई ३-१ गोलले पराजित गर्दै सम्राटले अन्तिम चारको यात्रा तय गरेको हो।

एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको सम्राटले अब फाइनल प्रवेशका लागि ३ वैशाखमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको सुरुआतदेखि नै आक्रामक रणनीति अपनाएको बिर्सामुन्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। ४४औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाए। पहिलो हाफमा पछि परेको घरेलु टोली दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो।

खेलको ५०औँ मिनेटमा सम्राटले बराबरी गोल फर्कायो। सौरभ तामाङको उत्कृष्ट क्रस पासलाई मौसम लिम्बूले डिबक्स भित्रबाट गोलमा परिणत गरे। खेलको ८६औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २-१ को अग्रता दिलाए। त्यसपछि थप गरिएको अतिरिक्त (इन्जुरी) समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३-१ को जित सुनिश्चित गरे।

उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

जित निकाले पनि सम्राटले गोल गर्ने आधा दर्जन बढी सुन्दर अवसर चुकाएको थियो। ५०औँ मिनेटमा सौरभ तामाङको कडा प्रहार पोस्टको केही माथिबाट बाहिरिएको थियो। त्यस्तै ६७औँ मिनेटमा कप्तान अशोक खवासले डिबक्स भित्रबाट गरेको कडा प्रहारले सही दिशा लिन सकेन। ७०औँ मिनेटमा कोमल खवासको प्रहारलाई भारतीय गोलकिपर मनोज मन्डाईले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।

बिर्सामुन्डाका लागि शिवशंकर किस्कुले एक सान्त्वना गोल गरे पनि पाहुना टोलीले अन्य थुप्रै अवसर गुमाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ। जसमा दुई पूर्वविजेता टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ।