काठमाडौँ। कुनै पनि देशलाई अन्तर्राष्ट्रिय ढुवानीका लागि समुद्री मार्गहरू बन्द गर्ने कानुनी अधिकार नरहेको संयुक्त राष्ट्रसंघले बताएको छ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) का प्रमुख आर्सेनियो डोमिंगुएजले बीबीसीलाई भने, “यदि कुनै पनि देशले स्ट्रेट अफ होर्मुज बन्द गर्ने प्रयास गर्छ भने यसले भविष्यका लागि खराब उदाहरण स्थापित गर्नेछ।”
उनले त्यस क्षेत्रमा द्वन्द्व चलिरहेको आफूले बुझेको तर अन्तर्राष्ट्रिय कानुनमा कुनै पनि समुद्री मार्ग बन्द गर्ने कुनै आधार नरहेको बताएका छन्।
डोमिंगुएजले थपे, “जति धेरै प्रतिशोधात्मक कारबाही हुन्छ स्ट्रेट अफ होर्मुजमा फसेका २० हजार जहाजका चालकदलका सदस्यहरूका लागि त्यति नै चिन्ता बढ्नेछ। यसले पहिले नै आर्थिक रूपमा प्रभावित विश्वको बाँकी भागका लागि कठिनाइ पनि बढाउनेछ।”