काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. दीपेन्द्र रोकायाले हुम्ला जिल्लाको समग्र विकासलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्न माग गर्दै सरकारलाई ६४ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

हुम्ला कुनै समय राज्यको केन्द्रमा रहेको ऐतिहासिक तथ्य स्मरण गराउँदै निरन्तरको उपेक्षाका कारण आज दुर्गमताको प्रतीक बनेको उनले उल्लेख गरेका छन्। उनले भने, “अब सामाजिक न्यायको आधारमा सबैभन्दा पछाडि रहेको हुम्लालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।”

नेता डा. रोकायाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हुम्लालाई ठोस र परिणाममुखी ढङ्गले सम्बोधन गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा पत्र बुझाएका हुन्।

प्रस्तावमा कर्णाली करिडोरअन्तर्गत पिलु–तुम्च, तुम्च–छार्या, छार्या–सिमकोट र सिमकोट–हिल्सा खण्डको स्तरोन्नति, प्रत्येक गाउँसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार र सबै पालिका केन्द्र हुँदै सीमावर्ती हिल्सासम्म अप्टिकल फाइबर पुर्‍याउनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, हिमाली क्षेत्र विकास प्राधिकरण स्थापना, हिल्सामा क्वारेन्टाइन तथा यारीमा सुक्खा बन्दरगाह निर्माणजस्ता रणनीतिक पहलमार्फत हुम्लालाई क्षेत्रीय व्यापार र आवागमनको केन्द्र बनाउने दृष्टिकोण प्रस्तुत गरिएको छ।

हुम्ला कर्णाली–१ र २ जस्ता ठूला जलविद्युत् आयोजनामा सहजीकरण, साना आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने तथा सिमकोटलाई सौर्य ऊर्जामार्फत लोडसेडिङमुक्त बनाउने प्रस्तावसमेत अघि सारिएको छ।

कैलाश–मानसरोवर दृश्यावलोकन केन्द्र, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पदमार्ग तथा चलचित्र छायाङ्कनस्थल विकासमार्फत हुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्नुपर्ने नेता डा. रोकायाको अवधारणापत्रमा उल्लेख छ।