काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्याय सम्पादनमा समयमै न्याय पाउनु लोकतान्त्रिक शासनको मूल आधार भएको बताएका छन्।
सर्वोच्च अदालतमा विचारधीन अवस्थामा रहेको कांग्रेसको आधिकारिता विवादसम्बन्धी मुद्दातर्फ इङ्गित गर्दै उनले यस्तो बताएका हुन्। ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनुसरह भएको भन्दै नेता महरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “न्याय सम्पादनमा समयमै न्याय हुनु लोकतान्त्रिक शासनको मूल आधार हो।”
सर्वोच्चमा विचाराधीन कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा भइरहेको ढिलाइले स्वाभाविक रूपमा गम्भीर चासो उत्पन्न गरेको उनको भनाइ छ। “शक्तिशाली सरकारलाई सन्तुलन र निगरानी गर्न सशक्त र एकीकृत प्रतिपक्ष अपरिहार्य हुन्छ। त्यसैले यस विषयको न्यायिक निरूपण केवल दलगत नभइ राष्ट्रिय लोकतान्त्रिक सन्तुलनसँग जोडिएको महत्त्वपूर्ण प्रश्न हो,” महरले लेखेका छन्, “यसकारण सर्वोच्च अदालतबाट ढिलो नगरीकन निष्पक्ष, स्पष्ट निर्णय आउनु आजको अनिवार्य आवश्यकता हो।”