काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा देखिएको सुरक्षा संयन्त्रको अवस्थाबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रसम्बन्धी विषयमा गहिरो अध्ययन गर्न छुट्टै समिति बनाउने निर्णय गरेको हो। यसअघि जेनजी आन्दोलन जाँचबुझ आयोगले पनि सुरक्षा व्यवस्थामाथि छुट्टै अध्ययन समिति गठन गर्न सिफारिस गरेको थियो।
उक्त सिफारिस कार्यान्वयन गर्दै सरकारले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका अन्य सदस्यमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई रहेका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार समितिले जेनजी आन्दोलनका क्रममा सुरक्षा संयन्त्रको भूमिका, चुनौती र सुधारका पक्षहरूबारे अध्ययन गर्नेछ।