काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सांसदलाई स्वकीय सचिव राख्ने प्रस्तावको विरोध गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले उक्त निर्णयप्रति असहमति जनाउँदै यसले राज्यको ठूलो आर्थिक भार बढाउने बताएका हुन्।
साम्पाङका अनुसार, यदि प्रत्येक स्वकीय सचिवलाई मासिक ३० हजार रुपैयाँ तलब दिइएमा कुल मासिक खर्च ८२ लाख ५० हजार रुपैयाँभन्दा बढी पुग्नेछ। यसै आधारमा उनले वार्षिक खर्च करिब ९ करोड ९० लाख र पाँच वर्षमा झन्डै ४९ करोड ५० लाख रुपैयाँ पुग्ने हिसाब प्रस्तुत गरेका छन्।
उनले यस्तो खर्च अनावश्यक भएको उल्लेख गर्दै सो रकम विकास निर्माणमा लगानी गर्नुपर्ने धारणा राखेका छन्। “सांसदहरुले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म,” उनले भनेका छन्।
यसअघि सुशीला कार्की नेतृत्वमा रहेको सरकारले स्वकीय सचिवको व्यवस्था खारेज गरेको थियो। तर हाल बालेन शाह नेतृत्वको सरकारले उक्त प्रावधान पुनः लागू गर्ने तयारी गरेको बताइएको छ।