काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) को ब्वाइजमा बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ।

समूह ‘ए’ बाट भारत विजेता तथा श्रीलंका उपविजेताका बन्दै सेमिफाइनलमा पुगेका छन्। समूह ‘बी’ बाट पाकिस्तान र नेपाल क्रमशः पहिलो र दोस्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनलमा भारतको भेट नेपालसँग हुनेछ भने श्रीलंकाले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनल जित्ने टोली १५ देखि २० सेप्टेम्बरसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका छनोट हुनेछन्। ब्वाइजमा बंगलादेशबाहेक ६ राष्ट्र सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ब्वाइज/गर्ल्समा समान २-२ गरी चार खेल सम्पन्न भए। नेपालको दुवै टोलीले प्रतिस्पर्धा गरेको थियो। दुवैमा नेपाल समान ३-० को नतिजामा पराजित भयो।

ब्वाइजमा पाकिस्तानले नेपाललाई पराजित गर्‍यो। सिंगल्समा पाकिस्तानका मुहम्मद आयानले सभ्यजंग कार्कीलाई ६-० र ६-२ तथा पाकिस्तानका मुहम्मद गिलले आरित मल्ललाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गरे। डबल्समा पाकिस्तानका मुहम्मद फाइजन र गिलको जोडीले साहंश बस्नेत र सभ्यजंगको जोडीलाई ६-२ र ६-१ ले हराए। ब्वाइजमै भारतले श्रीलंकालाई ३-० ले पाखा लगायो।

पाँच राष्ट्र सहभागी गर्ल्सको राउन्ड रोबिन लिगमा भारत र माल्दिभ्सले जित आत्मासात् गरे। भारतले नेपाललाई ३-० ले पन्छायो। सिंगल्समा भारतकी पी चटर्जीले आर्या पौडेललाई ६-२ र ६-१ भारतकी आशिष कौरले सारा पन्तलाई ६-० र ६-२ तथा डबल्समा भारतका चौधरी सिंह र आशिष कौरको जोडीले नाइरा घले र सारा पन्तको जोडीलाई ४-६, ६-३ र १०-४ ले पराजित गरे। माल्दिभ्सले पाकिस्तानमाथि ३-० को जित दर्ता गर्‍यो।

तेस्रो दिनको खेल समाप्तिसम्म गर्ल्समा समान २-२ खेलेका भारत, श्रीलंका र नेपालले क्रमशः २, २ र १ खेलमा जित हात पारेका छन्। माल्दिभ्स र पाकिस्तानले समान ३-३ खेल खेलिसकेका छन्। माल्दिभ्सले १ मा जित निकालेको छ भने पाकिस्तान जितविहीन छ। गर्ल्समा पनि शीर्ष दुई स्थानमा टोली एसियाली फाइनल प्रतियोगिताका लागि छानिनेछ।