इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका ६ बाट गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
पक्राउपर्नेमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए।
सप्तकोसी नदी क्षेत्रमा गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए।
बाँसको झाकलाई भंगालो छेउमा जाँच गर्ने क्रममा झाकमुनिको भागमा लुकाएर राखेको अवस्थामा नौवटा प्लास्टिकको बोरामा २२५ किलो गाँजा र को.३०प ९४७५ नम्बर मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको थेबेले जानकारी दिए।
पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।