काठमाडौं । इरानसँगको बढ्दो तनावबीच अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको छ। यस कदमको उद्देश्य इरानमाथि आर्थिक दबाब बढाउनु भए पनि यसले क्षेत्रीय अस्थिरता थप चर्किन सक्ने चिन्ता व्यक्त गरिएको छ।
वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, होर्मुज जलमार्गमा गरिएको नाकाबन्दीले अमेरिकाकै सहयोगी राष्ट्रहरू साउदी अरब र कतारलाई दीर्घकालमा नोक्सान पुर्याउन सक्छ। यही कारण साउदी अरबले अमेरिकालाई नाकाबन्दी फिर्ता लिन र वार्तामा फर्कन आग्रह गरिरहेको छ।
साउदी पक्षले चेतावनी दिएको छ कि यस्तो कदमले इरानलाई थप उत्तेजित पार्न सक्छ, जसको प्रतिक्रियास्वरूप अर्को महत्त्वपूर्ण सामुद्रिक मार्ग बाब अल–मन्देब अवरुद्ध हुन सक्ने जोखिम छ। यो मार्ग लाल सागर क्षेत्रमा अवस्थित साउदी अरबको तेल निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
यसअघि होर्मुज जलमार्ग अवरुद्ध हुँदा साउदी अरबले मरुभूमि हुँदै पाइपलाइनमार्फत तेललाई लाल सागरको यान्बु टर्मिनलसम्म पुर्याएर निर्यात कायम राखेको थियो। हाल साउदीले दैनिक करिब ७० लाख ब्यारेल तेल निर्यात गरिरहेको छ। तर बाब अल–मन्देब मार्ग बन्द भए यो वैकल्पिक व्यवस्था पनि प्रभावित हुन सक्ने देखिएको छ।
उक्त क्षेत्र आसपास हुथी विद्रोहीहरूको प्रभाव रहेको छ। गाजा युद्धका क्रममा उनीहरूले यस मार्गमा अवरोध सिर्जना गरेका थिए, र अहिले इरानले उनीहरूलाई पुनः सक्रिय गराउन सक्ने अनुमान गरिएको छ।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार, अमेरिकी नाकाबन्दीले इरानलाई लाल सागर मार्गमा कडा कदम चाल्न बाध्य पार्न सक्छ। इरानका सर्वोच्च नेताका सल्लाहकार अली अकबर वेलायतीले बाब अल–मन्देबलाई इरानका लागि होर्मुजजत्तिकै रणनीतिक रूपमा महत्त्वपूर्ण बताएका छन्।
क्षेत्रीय तनावले सबैको अर्थतन्त्रमा असर पर्ने भन्दै साउदी अरब, यूएई र कतारजस्ता खाडी मुलुकहरू लामो समयदेखि प्रत्यक्ष द्वन्द्व टार्न प्रयासरत छन्। हाल कतार र साउदी अरबका विदेशमन्त्रीहरूबीच क्षेत्रीय समन्वय सुदृढ गर्ने र तनाव कम गर्ने विषयमा छलफल तीव्र बनेको छ।
यसैबीच, ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खुला राख्नुपर्नेमा जोड दिएको र ऊर्जा आपूर्ति अवरुद्ध हुन नदिन खाडी मुलुकहरूसँग निरन्तर समन्वय भइरहेको बताएकी छन्।