काठमाडौँ। लामो समयदेखि बन्द रहेको काठमाडौँको ऐतिहासिक खुलामञ्च आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले औपचारिक रूपमा गेट खोलेर खुलामञ्चको शुभारम्भ गरेकी हुन्।
विश्व ध्यान दिवसको अवसर पारेर खुला गरिएको खुलामञ्चमा उद्घाटनकै दिन ध्यान योग कार्यक्रमसमेत आयोजना गरिएको थियो।
महानगरपालिकाले एक दशकभन्दा बढी समयपछि पुनर्निर्माण र सौन्दर्यीकरण सम्पन्न गरी यस क्षेत्रलाई सर्वसाधारण, युवा तथा विद्यार्थीका लागि खुला गरेको जनाएको छ।
खुलामञ्चमा अब नागरिकहरूले स्वतन्त्र रूपमा आवतजावत गर्न, व्यायाम गर्न तथा समय बिताउन सक्नेछन्। महानगरले करिब ९० लाख रुपैयाँ लागतमा दुबो रोप्ने, पैदल मार्ग निर्माण गर्ने र स्मार्ट बत्ती जडान गर्ने कार्य सम्पन्न गरेको थियो।
यस क्षेत्रको व्यवस्थापन काठमाडौँ महानगरपालिकाका वडा नम्बर २७ र २८ लाई दिइएको छ। खुलामञ्चलाई हरियाली चौरका रूपमा विकास गर्दै टहल्ने, आराम गर्ने र खेलकुद गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थल बनाउने लक्ष्य राखिएको छ।