सेयरबजार
सेयरबजारमा शुक्रबार ३३५ कम्पनीको ९६ हजार ५७३ पटकको कारोबारमा एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेप्से ५.३६ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.१८ प्रतिशतले बढेको नेप्से २८३८.४० विन्दुमा अडिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.५८ अंकले घटेर ४७६.८७ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ प्रतिशतले घटेको छ।
सेयरबजारमा शुक्रबार ३३५ कम्पनीको ९६ हजार ५७३ पटकको कारोबारमा एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच भए। जसअनुसार शुक्रबार सात अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँको कारोबार भयो।
सोमबार आठ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भएको थियो। मंगलबार नयाँ वर्षको सार्वजनिक बिदा भएका कारण नेप्सेमा कारोबार भएन। बुधबार भने १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ रुपैयाँको कारोबार भएको थियो। यसैगरी बिहीबार नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १०८ कम्पनीको सेयरमूल्य बढ्यो। १५० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे।
नेप्सेमा आज १३ समूहका कारोबार भएकामा पाँच समूहको सूचक उकालो लाग्यो भने आठ समूहका उपसूचक ओरालो लागे। जसअनुसार शुक्रबार वाणिज्य बैंक समूहको सूचक ०.२७‚ विकास बैंक ०.३८ तथा फाइनान्स ०.३४ प्रतिशतले घट्यो। यसैगरी होटेल तथा पर्यटन १.३८ र जलविद्युत् समूहको उपसूचक ०.६७ प्रतिशतले बढ्यो। लगानी समूह ०.१६ र जीवन बिमा ०.०७ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन समूहको उपसूचक भने १.४० प्रतिशतले उकालो लाग्यो।
यसैगरी लघुवित्त ०.३३‚ म्युचुअल फन्ड ०.१३‚ निर्जीवन बिमा समूह ०.५३ अंकले घटे। अन्य ०.५६ र व्यापार समूहको उपसूचक ०.०३ प्रतिशतले बढे।
नेप्सेमा शुक्रबार चार कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी‚ होटेल फरेस्ट इन लिमिटेड‚ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र शिखर पावर डेभपलमेन्ट लिमिटेड छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै एसियन हाइड्रोपावर लिमिडेडका लगानीकर्ताले ४.५४ प्रतिशतले घाटा बेहोरे।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज नेसनलको ६६ करोड ८६ लाख ३७ हजार १५१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर शुक्रबार २१ लाख १६ हजार ४२४ कित्ता किनबेच भयो। नेसनलको सेयर बिहीबार भने १७ लाख ३२ हजार ३१७ कित्ता किनबेच भएको थियो। बुधबार नेसनलको १७ लाख २८ हजार ३९८ कित्ता किनबेच भएको थियो। शुक्रबार यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३१८ रुपैयाँ कायम रह्यो।