बुटवल। बुटवल उपमहानगरपालिकाले फुटपाथ क्षेत्र र सडकमा व्यापार गर्नेहरुलाई हटाउन थालेको छ।
मुख्य शहरका अमरपथ, ट्राफिक चोक, राममन्दिर लाइन, अस्पताल लाइन, नेपालगञ्ज रोड, राजमार्ग चौराहादेखि बसपार्कसम्मका क्षेत्रहरुमा नियमित रुपमा अनुगमन गर्दै फुटपाथको व्यापार र मनपरी पार्किङलाई उपमहानगरपालिकाले हटाउन थालेको हो।
पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि डोजर चलाउन बाध्य भएको र यो अभियान बुटवलका सबै बजार क्षेत्रमा निरन्तर रहने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए। उनले धेरैपटक अनुरोध गर्दापनि अटेरी गरेपछि सबै व्यवसायिक संस्थाहरुको सहमतिमै अभियान थालेको बताए।
उपमहानगरपालिकाले सडक किनार र फुटपाथ अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय हटाउन भन्दै तीन दिनदेखि माइकिङ गर्दै व्यवसायी तथा सर्वसाधारणलाई जानकारी दिएको थियो।

सर्वसाधरण सडकपेटीबाट सुरक्षित रुपमा पैदल हिंड्न पाउने अधिकार सुनिश्चित गर्ने र बुटवल बजारलाई व्यवस्थित गर्ने उद्देश्यसहित नगरपालिकाले अभियान सुरु गरेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए।