काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई अदालतको अवहेलना मुद्दामा वारेस अनुमति दिएको छ।
शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले शाहविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्धामा वारेस राख्न अनुमति दिएको हो।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि ७ असार ०८० मा तत्कालिन मेयर वालेन्द्र शाहले फेसबुकमार्फत ‘सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन’ भन्ने स्टाटस लेखेका थिए।
सोही विषयमा अदालतको मानहानी भएको दावी सहित उनीविरुद्ध मुद्धा दायर भएको थियो।
अवहेलना मुद्दामा तीन वर्षदेखि अदालती तारिखमा धाइरहेका शाहले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै कार्यव्यस्तता देखाएर वारेस अनुमतिका निम्ति निवेदन दिएका थिए। यसअघि दिइएको निवेदन अदालतले अस्वीकार गरेको थियो।
अदालतको आजको फैसलाले अब अदालतमा सो मुद्धामा उनी आँफै उपस्थित हुनु पर्दैन। उनले आफ्नो नाममा वारेसलाई पठाउन सक्नेछन्।