काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। भोटेकोशी गाउँपालिका शिर ‘भैरवकुण्ड’मा विशेषगरी धार्मिक आस्था, विश्वास र पर्यटकीय दृष्टिकोणले प्रख्यात छ।

भैरवकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्डको रूपमा रहेको छ। विशेषत शेर्पा समुदायले भैरवकुण्डलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्छन्।

समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा रहेको भैरवकुण्ड समुन्द्री सतहबाट ६ हजार ५ सय ६७ मिटर उचाइमा रहेको ‘फुर्वी घ्याचु भञ्ज्याङग’को फेदीमा भैरवकुण्ड अवस्थित छ। विशाल र मनमोहक ताल भैरवकुण्ड ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ।

भैरवकुण्ड तालभन्दा केही तलको क्षेत्रमा नेपालकै दोस्रो अग्लो ‘भैरवकुण्ड छहरा’ छ। यो छहरा १ सय ९८ मिटर अग्लो छ। भैरवकुण्ड ताल र भैरवकुण्ड छहराको प्राकृतिक सुन्दरताले जो जुकै लट्ठ पर्छन्। यहाँ नै ‘सम्मुख जुगल हिमशृङ्खला पनि पर्दछ।

हिमशृङ्खलाले झनै पर्यटक मोहित गर्ने गर्दछन् । प्राकृतिक रूपमा अलौकिक मानिने भैरवकुण्डमा पुग्न निकै कठिनाइ भोग्नु पर्दछ तर त्यहाँ पुग्न खेपिरहेको पीडालाई त्यहाँको प्राकृतिक रसास्वादनले भुलाइदिने भएपछि भैरव कुण्डमा पुग्ने पर्यटक र धर्मावलम्बीको बाक्लो उपस्थित हुने गर्दछ।

अरनिको लोकमार्ग भोटेकोशी गापास्थित लार्चाबाट भैरवकुण्ड जानका लागि ठाडो र अप्ठ्यारो, उकालो भीरको बाटो जानु पर्ने छ। करिब दुई दिन पैदल यात्राका माध्यमबाट सो ताल पुग्न सकिन्छ। बिच बाटोमा स्थानीय घर र होम–स्टेमा बास बस्न र अर्गानिक खानाको स्वाद लिन सकिन्छ।

पैदल यात्रामा शेर्पा समुदायको सांस्कृतिक रीतिरिवाज, भेषभूषा, रहनसहन लगायतका परम्परा प्रत्यक्ष अवलोकन गर्न पाइन्छ। अरनिको राजमार्गको डाक्लाङ, काक्लाङ, लिस्तिमाई अर्थात् उग्रचण्डी भगवती, छगाम, बगाम र चोकर भीर हुँदैँ भैरवकुण्ड पुग्न सकिन्छ।

भैरव कुण्डमा भगवान् शिव पार्वतीको वासस्थान रहेको किंवदन्ती छ । महादेवको अग्ररुप भैरव सम्हारकर्ताको रूपमा मानिन्छ। भगवान् शिवको क्रिडास्थलको रूपमा भैरवकुण्डलाई लिइन्छ । जनैपूर्णिमाका दिन हजारौँ भक्तजनको उपस्थितिमा भैरव कुण्डमा ठुलो मेला लाग्ने गर्दछ।

‘जे माग्यो, त्यही पूरा हुने’–जनविश्वास साथ तीर्थालुहरू भैरवकुण्ड धाउने गर्छन्, त्यसकारण पनि भैरवकुण्डमा धार्मिक पर्यटकका साथसाथै युरोपियन मूलक, अमेरिका, जापान लगायत विभिन्न देशका पर्यटकहरु आउने गर्दछन्।

विदेशी पर्यटकहरु भने भैरवकुण्ड र त्यसपासका दृश्य अवलोकन गर्न एक हप्तादेखि महिना दिनसम्म बस्ने गरेको पाइन्छ। खाना बस्नका लागि सा–साना होटल र स्थानीय घरमा बास बस्न पाइन्छ। अधिकांश पर्यटकहरूले बासको लागि टेण्ट र खानेकुरा बोकेरै लाने गरेको पाइन्छ।

तस्बिरः बिजेन अमात्य–नेपाल फोटो लाइब्रेरी