कांग्रेसको राजनीति
देउवा पक्षले भन्छ- पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको काँधमा
काठमाडौँ। शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्चले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि इतरपक्षले स्विकार्ने निर्णय गरेको हो। देउवापक्षीय नेताहरूको शनिबार बसेको अनौपचारिक बैठकले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको निर्णय सम्मान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए।
बैठकपछि उनले फैसलाका कतिपय आधारमा आफूहरूको असन्तुष्टि र विरोधाभास रहे पनि न्यायालयको आदेशलाई शिरोधार्य गर्ने बताए। उनले भने, “नेपाली कांग्रेसले सधैँ विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्दै आएको छ। फैसलामा उल्लेख गरिएका कतिपय विषयमा हाम्रा पर्याप्त विमति भए पनि अदालतको निर्णयलाई हामीले आत्मसात् गरेका छौँ।”
अदालतको फैसलासँगै अब पार्टी सञ्चालन र एकताको सम्पूर्ण जिम्मेवारी गगनकुमार थापा नेतृत्वको कार्यसमितिको हातमा पुगेको देउवा पक्षको ठहर छ। विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादका कारण विगत ५-६ महिनादेखि कांग्रेसभित्र अन्तरद्वन्द्व थियो।
पूर्णबहादुरलाई अब ‘कार्यवाहक सभापति’ नभन्ने
देउवा पक्षले अबदेखि पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक सभापति’ नभन्ने भएको छ। न्यायलयको आदेश स्वीकार्दै खड्का अब पूर्वकार्यवाहक सभापति भएको बताएको हो। यसअघि देउवा पक्षले थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो।
छलफलपछि देउवा पक्षका नेता विश्वकर्माले भने, “हिजोसम्म उहाँ कार्यवाहक सभापति हुनुहुन्थ्यो। अदालतको फैसलाले अर्को पक्षलाई आधिकारिकता दिएपछि अब हामीले त्यसलाई स्वीकारेका छौँ। अब पार्टीको वैधानिक नेतृत्व गगन थापाकै हो।”