सुनसरी। सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङ उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए।
सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उनले जानकारी दिए।
बरामद भएको सामग्रीको ११ लाख २० हजार रुपैयाँ मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद भएको केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ।