काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ । इरानले अमेरिकासँग युद्धविरामको बाँकी अवधिभर स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा खुला राख्ने घोषणा गरेको छ। इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रबार यस्तो घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्,‘लेबनानमा युद्धविराम भएपछि सबै व्यावसायिक जहाजहरूका लागि होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने बाटो युद्धविरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुला रहनेछ।’

अमेरिकाले यस हप्ताको सुरूमा स्ट्रेट अफ होर्मुजमा नौसैनिक नाकाबन्दी सुरू गर्ने घोषणा गरेको थियो।

यसअघि फेब्रअरीमा अमेरिका–इजरायल आक्रमणको जवाफमा इरानले विश्वकै सबैभन्दा व्यस्त तेल ढुवानी मार्ग होर्मुजलाई केही हप्ताका लागि पूर्ण रूपमा बन्द गरिदिएको थियो।

इरान र अमेरिकाबीच लागू भएको दुई हप्ताको युद्धविराम २२ अप्रिलमा सकिँदैछ।

इरानले अमेरिकासँगको वार्ताअघि लेबनानसहित सम्पूर्ण मध्यपूर्वमा युद्धविराम हुनुपर्ने सर्त राखेको थियो। यद्यपि इजरायल र अमेरिकाले भने युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको बताएका थिए।

त्यतिबेला इरान र वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानले युद्धविराममा लेबनानलाई पनि समावेश गर्नुपर्ने बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धन्यवाद दिएका छन्। स्ट्रेट अफ होर्मुज खोलेकोमा उनले इरानलाई धन्यवाद दिएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल  ट्रुथ सोशलमा लेखेका छन्,‘ स्ट्रेट अप होर्मुज पूर्ण रूपमा खुला छ र आवतजावतका लागि तयार छ भनेर इरानले भर्खरै घोषणा गरेको छ। धन्यवाद!’

यद्यपि यसको केही मिनेटपछि नै उनले अर्को पोस्ट गर्दै होर्मुजमा ‘अमेरिकी नाकाबन्दी’ जारी रहने बताए।

उनले लेखेका छन्,‘होर्मुज स्ट्रेट व्यापार र आवतजावतका लागि पूर्ण रूपमा खुला र तयार छ, तर नौसैनिक नाकाबन्दी जारी रहनेछ।’

अमेरिकी नाकाबन्दी केवल इरानमाथि मात्र लागू रहने ट्रम्पले बताएका छन्। उनले भने,‘इरानसँगको हाम्रो सम्झौता सतप्रतिशत पूरा नहुँदासम्म इरानमाथि नाकाबन्दी जारी रहनेछ।’