भोजपुर। हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा बगाले थापाक्षेत्री समुदायको साझा पहलमा कल्याणकारी भवन निर्माण गरिएको छ।
स्थानीय समुदायका सामाजिक, सांस्कृतिक र परम्परागत गतिविधिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो।
भवन निर्माणमा प्रदेश सरकारको २७ लाख, वडा र गाउँपालिकाको १२ लाख र बाँकी रकम बगाले थापा समुदायबाट सङ्कलन गरी कुल ६९ लाख रुपैयाँ खर्च गरिएको बगाले थापा–क्षेत्री कल्याणकारी परिषद् जिल्ला शाखाका अध्यक्ष विचारी थापाले बताए। उनका अनुसार भवन निर्माण गर्न रु दुई लाख जग्गा खरिदमा खर्च भएको छ।
स्थानीयवासी बलबहादुर थापाले भवनले थापा र क्षेत्री समुदायका सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताए। भवन नहुँदा वंशवली भेलाका लागि समस्या हुने गरेकामा अब सहजता भएको उनको भनाइ छ। “पहिले हामीलाई यस्ता कार्यक्रम सञ्चालन गर्न अन्य स्थानमा जानुपर्थ्याे, अब हाम्रो आफ्नै भवन भएको छ। यसले सामाजिक सहभागिता र समुदायिक एकता बढाउनेछ”, उनले भने।
स्थानीय धनबहादुर थापाले भने, “यो केवल भवन होइन, हाम्रो समुदायको पहिचान र साझा प्रयासको प्रतीक हो। यसले गाउँका सबै सदस्यलाई सामाजिक, सांस्कृतिक र विकासका गतिविधिमा सक्रिय भाग लिन प्रेरित गर्नेछ।”
भवनमा महिला समूह, बालबालिका, युवा समूह र वृद्धहरूका लागि कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। प्रशिक्षण, व्यावसायिक तालिम, सांस्कृतिक कार्यक्रम र बालबालिका गतिविधिसमेत यहाँ नियमित रूपमा सञ्चालन गर्न सहजता हुने स्थानीयको भनाइ छ।
थापा–क्षेत्री कल्याणकारी भवनले लुङ्गिन क्षेत्रका स्थानीय बासिन्दामा आत्मविश्वास, सामाजिक जिम्मेवारी र समुदायिक सहकार्य बढाउने विश्वास व्यक्त गरिएको छ। यस प्रकारको पहलले गाउँमा विकास, सामाजिक सहभागिता र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने दिशामा स्थानीयवासी हेमराज कार्कीले बताए।
भवनले गाउँका सबै सदस्यलाई एउटै ठाउँमा भेला भएर साझा योजना र कार्यक्रम सञ्चालन गर्ने अवसर दिएको छ। भवन निर्माणले स्थानीय थापा र क्षेत्री समुदायलाई मात्रै नभई सम्पूर्ण लुङ्गिन क्षेत्रका बासिन्दामा सामाजिक सहयोग, सहभागिता र समृद्धि बढाउने उनको भनाइ छ।