बारा। बारामा चट्याङ लागेर एक किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। खेतमा काम गरिरहेका उनलाई चट्याङ लागेको हो।
प्रहरीका अनुसार ठुलो हुरी बताससहित आएको वर्षाका क्रममा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो।
चट्याङ लागेपछि उनी खेतमै ढलेका थिए। घटनास्थलमै गम्भीर घाइते भएका चौधरीलाई सँगै रहेका स्थानीयले तत्कालै घरतर्फ लगेका थिए। तर घर पुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक चौधरीका श्रीमती र दुई छोरा छन्।