काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
हावाहुरीले क्षति पुर्‍याएको मुसहर बस्ती। तस्बिर : रासस
अ+
अ-

सिरहा। हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ।

शनिबार साँझ आएको हावाहुरीका कारण लहान नगरपालिका २१‚ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको छाना उडाएको थियो। स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई त्रिपाल, चामल, नुन, खानेतेललगायत सामग्री वितरण गरे।

त्यस अवसरमा नगरप्रमुख चौधरीले पीडितको तत्काल बसोबासको व्यवस्थापनमा नगरपालिकाले प्राथमिकता दिएको बताए। “हावाहुरीबाट प्रभावित परिवारलाई तत्काल सुरक्षित बसोबासका लागि त्रिपाल उपलब्ध गराएका छौँ,” उनले भने, “अब एक साताभित्रै जस्तापाता उपलब्ध गराएर दीर्घकालीन बसोबासको व्यवस्था गर्छौं।”

नगरप्रमुख चौधरीले भूमिहीन तथा सुकुम्वासी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले दोस्रो चरणमा ५०० घर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए। “हामी सुकुम्बासी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजनामा छौँ,” उनले भने। उक्त बस्तीमा ४२ परिवार बसोबास गर्दै आएका छन्।

यसैबीच हावाहुरीकै कारण लहान २४ मा सात घर र लहान १९ मा एउटा घरमा पनि क्षति पुगेको छ।