काठमाडौँ। रुवान्डामा भइरहेको पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ।
रुवान्डा क्रिकेट स्टेडियममा आज (शनिबार) भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो। नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीको पारी १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो। इटालीका लागि दुई ब्याटरबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन्।
बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले चार, कविता कुँवरले २ तथा मनीषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक/एक विकेट लिइन्।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनायो। नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन्। उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन्। त्यस्तै सम्झना खड्काले १६, विन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन्।
बलिङतर्फ इटालीकी एमिलिया बाट्र्रामले तीन विकेट लिइन्। शनिबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो। इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवान्डालाई पराजित गरेको थियो।