काठमाडौँ। विभिन्न मुलुकका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राष्ट्रपति भवनमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राजदूतहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
समारोहमा गाम्बियाका गैरआवासीय राजदूत मुस्तफा जवारा, क्यानडाका गैरआवासीय राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका गैरआवासीय राजदूत तोमाज मेन्सिन र अल्जेरियाका गैरआवासीय राजदूत अब्डेनोर खेलिफीले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई यसअघि लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।
