काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। उपाधि दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६-० को फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्वार्टरफाइनलमा पुलिसले भारतको रानीलक्ष्मीबाई स्पोर्टस् एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्। दुई गोल मीना देउवा र एक गोल अनुष्का शेर्पाको नाममा रह्यो।

खेलको पहिलो मिनेटमै रेखा पौडेलले गोल गरिन्। डि-बक्समा रहेकी रेखाले अर्की स्ट्राइकर मीनाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल भइन्। पुलिसका लागि दोस्रो गोल मीनाकै नाममा रह्यो । रेखाले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सबनम राईले नियन्त्रणमा लिन नसकेपछि मीनाले त्यसलाई सुन्दर गोलमा परिणत गरिन्।

खेलको २९औँ मिनेटमा सम्झना लावतीको पासमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्न सफल भइन्। ३८औँ मिनेटमा रेखाले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गरिन्।

पहिलो हाफको ४० मिनेट ४-० को स्कोर बनाएको पुलिसले बाँकी दुई गोल दोस्रो हाफमा लगाएको थियो। दोस्रो हाफको ७२औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल थपिन्।

रेखाको पासमा अनुष्काले देब्रे बार च्यापेर गरेको प्रहार गोल भएको थियो। खेलको ७७औँ मिनेटमा रेखाले ह्याट्रिक पूरा गरिन्। मीनाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराइन्।

चन्द्रगढीले विपक्षीमाथि फितलो प्रदर्शन गरेको थियो। पहिलो हाफको अतिरिक्त समयमा पुलिसका गोलकिपर उषा नाथको हातबाट फुत्किएको बललाई चन्द्रगढीकी खेलाडी रेखा विष्टले पोस्टको दिशा दिन नसक्दा सान्त्वना गोल गर्ने अवसर खेर गएको थियो।

खेलको प्लेयर अफ दी म्याच पुलिसकी ह्याट्रिककर्ता रेखा भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन्।