तेहरान । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग लिने वा नलिने भन्ने निर्णय गर्न बाँकी रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सम्झौता नभए इरानको पूर्वाधारमा आक्रमण गर्ने चेतावनी पनि दिएका छन् ।
यसै महिनाको सुरुमा इस्लामावादमा भएको प्रारम्भिक वार्ता बिना कुनै सम्झौता सकिएको थियो । त्यसपछि दुवै पक्षले एकअर्कालाई अस्थायी युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले अर्को चरणको वार्ताको कुनै योजना नरहेको र यस विषयमा कुनै निर्णय भइनसकेको बताएका छन् । “अमेरिकाले कुटनीतिक प्रक्रियालाई अघि बढाउन गम्भीरता नदर्शाउने व्यवहार गरिरहेको छ”, उनले भने, “अमेरिकाले इरानी बन्दरगाहमा जारी नाकाबन्दी र हालै एउटा जहाज जफत गर्नु युद्धविरामको स्पष्ट उल्लङ्घन हो।”