काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

मागेर जीवन चलाउन सडकमा कोही पनि बस्नु नपर्ने अवस्था बनाउने महानगरको लक्ष्य

७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँको स्वयम्भू क्षेत्रबाट तीनजना सडक सहयोगापेक्षीको उद्धार गरेर मानव सेवा आश्रम लगिएको छ।

यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षीया महिलाको ठेगाना खुलेको छैन। उनको अवस्था सामान्य छ। ७० वर्षका पुरुषको ठेगाना लमजुङ हो। उनको अवस्था पनि सामान्य नै छ। ५५ वर्षका पुरुषको घर नुवाकोट हो। उनको हातमा चोट छ।

काठमाडौँलाई सडक सहयोगापेक्षी मानवमुक्त बनाउने कार्यक्रमअन्तर्गत अहिले काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा सडक सेवाअन्तर्गत सडकमा बेसहारा जीवन बिताइरहेका व्यक्तिको उद्धार गरिरहेको छ। उद्धार कार्यमा माग्न बसेका कतिपय व्यक्ति भने उद्धारकर्ताको आँखा छलेर दायाँबायाँ लाग्ने गरेका भेटिन्छन्। यसो हुनु भनेको यस्ता व्यक्ति सहयोगापेक्षी होइनन्। उनीहरूले माग्ने कामलाई पेसा बनाएका छन्।

सार्वजनिक चोक, गल्ली, पार्क, सम्पदास्थल तथा मानिसको बाक्लो आवतजावत हुने ठाउँमा विभिन्न उमेर समूह, लिंग र अवस्थाका मानिस पैसा मागिरहेको भेटिन्छन्। यसरी पैसा माग्नेलाई मानवोचित व्यवस्थापन गरेर सडकलाई माग्ने व्यक्तिमुक्त बनाउनु उद्धार कार्यबाट प्राप्त गरिने नतिजा रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार सडकमा रहेका व्यक्तिको उद्धार गर्नु, स्क्रिनिङ गर्नु र अवस्थाका आधारमा पारिवारिक तथा सामाजिक पुनःस्थापना गर्नु वा आश्रममा आश्रय प्रदान गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन्। यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट दुई र टेकुबाट एक जनालाई उद्धार गरिसकिएको छ।