काठमाडौँ। वर्षाले अवरुद्ध नेपाल र यूएईबीचको खेल पुनः सुरु भएको छ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले यूएईलाई जितका लागि ७८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा यूएईले नेपाललाई हराउन ७८ रनको लक्ष्य पाएको हो। निर्धारित २० ओभरको खेललाई १० ओभरमा छोट्याएपछि यूएईले ७८ रनको लक्ष्य पाएको हो।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित भएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे। सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए। मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्त्वपूर्ण इनिङ्स खेले।
त्यस्तै बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्का सहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पुर्याए। यूएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १-१ विकेट लिए।
नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभरमा ६२/३ को स्थितिमा रहेको नेपालले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो।