काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
तस्बिर : प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बुटवलमा जितगढी विजय उत्सव सुरु भएको छ।

बुटवल उपमहानगरपालिकाको आयोजनामा हरेक वर्ष मनाइँदै आएको यो उत्सव यस वर्ष पनि विशेष कार्यक्रमका साथ सुरु भएको हो। उत्सवमार्फत ऐतिहासिक जितगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उत्सव उद्घाटन गरेका छन्।

यस अवसरमा गोर्खाबाट पैदलयात्रा गर्दै आइपुगेको नेपाली सेनाको टालीलाई स्वागत गरिएको थियो। विभिन्न संघ-संस्था तथा सेनाले आफ्ना झाँकी प्रदर्शन गरेका थिए।

७ वैशाख १८७२ मा आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा यो उत्सव मनाइँदै आएको छ। युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा सेनाले विजय हासिल गरेको घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’का रूपमा चिनाएको इतिहासमा उल्लेख छ।

बुटवलको तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको युद्धमा सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए भने अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए। यो युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए। इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६औँ शताब्दीमा निर्माण भएको मानिन्छ। अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जितगढी’ रहन गएको स्थानीय जानकार बताउँछन्।

हेर्नुहोस् थप तस्बिर :