काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले हवाई फायर गरी मोरङमा एक जना लागुऔषध कारोबारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-१ हटियाडाँडाका २१ वर्षीय आविद मियाँ रहेका छन्।

प्रहरी उपरीक्षक कवित कटवालका अनुसार मियाँलाई रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाटै सोमबार राति ८:२० बजे पक्राउ गरिएको हो। बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका मियाँको साथबाट प्रहरीले ४७५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरी उपरीक्षक कटवालले बताए।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले तीव्र गतिमा भारतबाट नेपाल आउँदै गरेका मियाँलाई रोक्न दुई राउन्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक कटवालले बताए। “उनले पहिले-पहिले पनि भारतबाट नेपालमा लागुऔषध ल्याई रानी, रंगेली र सिजुवा क्षेत्रमा बेचबिखन गर्ने गरेको सूचन थियो,” कटवालले भने, “तीव्र गतिमा मोटरसाइकलमा भाग्न खोजेपछि पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरिएको हो।”

पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ। मोरङ प्रहरीले १ वैशाख २०८३ देखि प्रहरीले ‘लागुऔषधमुक्त मोरङ अभियान-२०८३’ सुरू गरेको थियो। यसै अभियान अन्तर्गतको अपरेशनका क्रममा उनी पक्राउ परेको प्रहरी उपरीक्षक कटवालले बताए। “रानी, रंगेली र सिजुवा क्षेत्रमा युवाहरू सीमापारि जाने, लुकाएर ब्राउनसुगरलगायतका लागुऔषध लिएर आउने, सेवन गर्न भारत पुगेर फर्किने गतिविधि भइरहेकोले रोकथामका लागि प्रहरी परिचालन गरिएको छ,” कटवालले भने, “तीन वटै ठाउँमा भारत पुगेर फर्किने रोकेर युवाहरूलाई सचेतना गराउने गरेका छौँ।”

चोरी, लुटपाट र हत्याका घटनासम्म हुन थालेपछि प्रहरीले लागुऔषधविरूद्ध अभियान सञ्चालन गरेको थियो।

ब्राउनसुगर भारतबाट नेपाल भित्र्याइने लागुऔषध हो। यो लागुऔषध गाँजाबाट प्रशोधन गरिन्छ। नेपालबाट तस्करी भई भारत पुग्ने लागुऔषध प्रशोधनपछि चरेस र ब्राउनसुगरको रूपमा पुन: नेपाल नै तस्करी हुने गरेको छ।