काठमाडौँ। संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ।
नेपाली कांग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, सह-महामन्त्रीद्वय उदयशमशेर राणा र योगेन्द्र चौधरीसमेत सहभागी थिए।
बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीबारे जानकारी गराएका थिए। संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममा केही प्रावधान संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाइ थियो।
लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका थिए। समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आमनागरिकसँग बृहत् छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा कांग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला गृहकार्य सुरु गरेको हो। सरकारले बनाएको समितिमा पार्टीका तर्फबाट प्रतिनिधि पठाउनेबारे कुनै निर्णय नभएको सदस्य-सचिव कटुवालले जानकारी दिए।
उनका अनुसार सरकारले शुक्रबारसम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ। समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय गरिएको छ।
कांग्रेसले बनाएको समितिको सदस्यमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र नीरज गुप्ता छन्।