काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले दोस्रो टी-२० आई खेलमा यूएईलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको नेपाल आठ विकेटले विजयी भएको हो। योसँगै नेपालले २ खेलको सिरिज १-१ को बराबरीमा सकाएको छ। पहिलो खेलमा नेपालले ६ विकेटको हार बेहोरेको थियो।

यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जितमा कुशलले अविजित रहँदै सर्वाधिक ८४ रनको योगदान दिए। ५५ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे।

उनको यो करिअरको १५औँ अर्धशतक हो। उनले पहिलो विकेटका लागि कुशल मल्लसँग ६७ रनको साझेदारी गरेका थिए। मल्ल आठौँ ओभरको तेस्रो बलमा क्याच भए। उनले १७ बलमा १९ रन बनाए।

डेब्यु खेल खेलेका सन्तोष यादव एक रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे। यूएईका मोहम्मद अर्फान र नलांश केसवानीले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।

यूएईका अक्षदीप नाथले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। ४२ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। यो उनको पहिलो अर्धशतक हो। उनले नेपालविरुद्धको पहिलो खेलमा मात्रै डेब्यु गरेका हुन्।

मोहम्मद अर्फान ३२ रनमा आउट भए। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। अदिब उस्मानी ३० रनमा आउट हुँदा अन्यले खुलेर ब्याटिङ गर्न सकेनन्।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ६ रन खर्चिए। हेमन्त धामीले २ तथा नन्दन यादव र शहाब आलमले समान १ विकेट राखे।