काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
दिनेशनाथ गोंगल।
अ+
अ-

काठमाडौँ। नेपालका पहिलो न्युरो सर्जन डा. दिनेशनाथ गोंगलको निधन भएको छ। ९४ वर्षको उमेरमा उनको मंगलबार आफ्नै निवासमा निधन भएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का संस्थापक निर्देशकसमेत रहेका गोंगलले वीर अस्पतालमा करिब चार दशक सेवा गरेका थिए।

पाल्पाको तानसेनमा १९८९ सालमा जन्मिएका उनले जुद्धोदय स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। उनले त्रिचन्द्र कलेजबाट आईएस्सी र बीएस्सी अध्ययन पूरा गरेका थिए। त्यसपछि भारतको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेका थिए। त्यसपछि उनले मुम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए। सन् १९६१ मा नेपाल फर्किएर वीर अस्पतालमा उनले काम आरम्भ गरेका थिए।

उनले आफ्नो करिअरमा न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रिया नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए।