काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को नौं महिनामा ३२ अर्ब ५१ करोडभन्दा बढीको धाचामल आयात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको साउनदेखि चैतसम्ममा ६ लाख ३८ हजार ७ सय ८७ टन धान, चामल, कनिका र बिउ आयात भएको छ ।
विभागको तथ्यांक अनुसार गत वर्ष साउनदेखि चैतसम्म १८ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख ७२ हजार २ सय १२ टन कच्चा धान आयात भएकोमा यस वर्ष घटेर १५ अर्ब ८६ करोड ६३ लाखको ४ लाख २८ हजार ३ सय ५० टनमात्र आयात भएको छ ।
चालु वर्ष समीक्षा अवधिमा ६ अर्ब ८१ करोड ८६ लाख बराबरको ५९ हजार ८ सय १९ टन बास्मती चामल भित्रिएको छ । गत वर्ष सोही अवधिमा ५ अर्ब ७८ करोड ६४ लाखको ५२ हजार १ सय ९१ टन बास्मती चामल आयात भएको थियो । त्यसैगरी अन्य तयारी चामल (सेमी–मिल्ड वा ह्वाइली मिल्ड) आयात पनि उच्च रूपमा बढेको छ ।
गत वर्ष ८ अर्ब ७४ लाख ४० हजारको १ लाख २१ हजार २ सय ८५ टन यस्तो चामल भित्रिएकोमा चालु वर्ष बढेर ९ अर्ब १३ करोड ७० लाखको १ लाख ४२ हजार २ सय २६ टन पुगेको छ । गत आव नौं महिनामा जम्मा ११ करोड ३८ लाख बराबरको २ सय ४६ टन धानको बिउ आयात भएकोमा चालु आव झन्डै तीन गुणाले बढेर ३८ करोडको ८ सय ५१ टन पुगेको छ ।