काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । नेपाली बजारमा स्मार्टफोनको प्रयोग र माग तीव्र रूपमा बढ्दै गएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा मोबाइल फोन आयात उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ।

समीक्षा अवधिमा नेपालमा ३३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका १६ लाख ७४ हजारभन्दा बढी थान स्मार्टफोन भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ८९ हजार थानले बढी हो। गत वर्ष यही अवधिमा २५ अर्ब ३८ करोड रुपैयाँ बराबरका करिब १५ लाख ८५ हजार थान मोबाइल आयात भएका थिए।

चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ लाख ४५ हजारभन्दा बढी स्मार्टफोन आयात हुँदा करिब ३ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ।

आयात स्रोतका आधारमा चीन प्रमुख आपूर्तिकर्ता देश बनेको छ। चीनबाट मात्र १४ लाखभन्दा बढी थान मोबाइल आयात हुँदा २५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। भारत पनि दोस्रो ठूलो आपूर्तिकर्ताका रूपमा रहेको छ, जहाँबाट २ लाख ५५ हजारभन्दा बढी थान मोबाइल आयात भई करिब ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

मोबाइल आयातमा भएको वृद्धिसँगै सरकारको राजस्व संकलनमा पनि सुधार देखिएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मोबाइल आयातबाट मात्रै ६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढी हो।